महाभारतको आधुनिक उत्खनन हो- युगान्त । युगौंदेखि भक्तिगान, धर्मभीरुता र प्रक्षिप्त कथाहरूको पत्रे चट्टानले। पुरिएको महाभारतलाई यो उत्खननले धर्मग्रन्थभन्दा बढी वस्तुवादी र यथार्थपरक कृतिका रूपमा फेला पारेको छ । जहाँ पात्रहरू जबर्जस्ती भिराइएका तिलस्मी चरित्र, मर्यादा र गुणदोषहरूको बोझबाट मुक्त छन् । उनीहरू मानवीय कमजोरीहरू बोकेरै बाँचेका छन् । मानवीय मूल्य र मान्यताको परिभाषा अहिले धेरै बदलिइसकेको भने हुन सक्छ ।
इरावती कर्वेको यो उन्नत चेत 'महाभारतसामु फूल-अक्षता बोकेर नतमस्तक हुँदैन । बरु त्यसमा थोपरिएका भद्दा र असङ्गत प्रसङ्गहरूमा थप चनाखो भई पात्र र प्रवृत्तिहरूको रौंचिरा केलाउन थाल्छ । पात्रका कमजोरी छोप्न र उनीहरूको 'पुरुषार्थ प्रस्ट्याउन ओढाइएको 'दैवी शक्ति को खोल यसले सर्लक्कै फुकालिदिएको छ । यसले गर्दा पात्रहरू नांगिएका छन् तर उनीहरू निक्खर अनि जीवन्त भएका छन् । विवेकपूर्ण आलोचनाले पर्गेलेर शेष रहेको महाभारतको त्यही जीवन्त अवशेष नै 'युगान्त हो।
Descriptions are sourced from publishers or third parties and are not independently verified See our disclaimer