वैज्ञानिक प्रयोगशालाबाट चिनाएको जगत्जस्तै सदर हुन्छ - कवयित्रीले चिन्तनबाट चिनाइएको जगत् । मात्र यो जगत् हाम्रा जीवनानुभवसँग ङ्गति र सामन्जस्यको हुनुपर्छ । यसरी हुन्छ काव्यिक जगत्को सत्यता-मूल्य (truth-value) र कृतिको महत्ताको आधार । नित्य प्रत्यावर्ती जगज्जीवनलाई निरन्तर परिवर्ती हाम्रा बोध र भावले ठम्याउने कठिन उद्यममा प्राप्त उनको प्रत्येक कविता हामीलाई हाम्रो अस्तित्व यहाँ सृष्टिमा सान्दर्भिक र अर्थपूर्ण चिन्न र पाउनमा परामर्श छ, मन्त्रणा छ । सन्धान्य सत्यता पूर्णको आंशिक अवतरण (अवतार) हुँदछ एक कविता, मानिसमा ईश्वर (God in Man) समानुरूप । कवयित्रीको नवीन कविताकृति नवीन खोज र नवीन प्राप्तिको गरिमामय सन्देश हुन्छ हामीलाई ।
रिचड रोर्टीले बताउँछन् : आधुनिक कवितामाथि तीन शाप उच्चारित छन्- हेगलको, मार्क्सको र फ्रायडबाट । हेगलको भविष्यवाणी छ - द्वन्द्वात्मक प्रगतिको प्रक्रमले उच्चतम शेषमा दर्शन मात्र पुग्छ, अन्य ज्ञान र कला बाटैमा बित्छन् । मार्क्सको आयोजना छ : साम्यवादमा सब उद्योग (कार्य) सार्वजनिक र सामूहिक तहमा हुन्छन्, नितान्त व्यक्तिक कार्यकलाप कविता लेखनलाई स्थान हुँदैन । फ्रायडको निष्कर्ष छ : संसारमा सबै थोकमा रहेको मृत्युप्रवृत्ति (Death instinct) कवितामा स्पष्टः क्रियाशील बन्दै आउँछ ।
त्रिशापलाई निष्फल आफ्ना कृतिले आज पनि साबित गरिरहेका हामीलाई आवश्यक छन्, सहस्र शारदा शर्माहरू ।
- इन्द्रबहादुर राई
Descriptions are sourced from publishers or third parties and are not independently verified See our disclaimer